विद्यापति मिश्र

बाल्यकालदेखि नै बाँसुरी बजाउन शुरू गरेका आस्मान राई खुदुनावारी शिविरका प्रायजसो भूटानीका लागि परिचित नाम हो । अझ, धेरैले यी बाँसुरीका हस्तीलाई ‘बुबु’ भनेर सम्बोधन गर्दछन् । “राई भाषामा बुबु भनेको दाई हो, यो मेरो उपनाम हैन । त्यसकारण मलाई जे भने पनि हुन्छ,” मुसुमुसु हाँस्तै उनी भन्दछन् । कति वर्षदेखि उनले बाँसुरी बजाउन थालेको हो भन्ने उनलाई ठ्याक्कै थाहाँ छैन तर पनि करिब २५ वर्ष जति वितेको उनको तर्क छ ।
सानो छँदा रेडियोबाट बजेका गीतहरु सुनेर सिक्ने गर्दागर्दै बाँसुरी वाधनमा पोख्त भएको उनी बताउछन् । शिविरमा हुने प्रायजसो सबै सांगितक कार्यक्रममा मात्र हैन दिनौजसो भइरहने तालिमहरूमा पनि ‘बुबु’ सबैलाई आस्चर्यचकित् पार्दै बाँसुरी बजाउने गर्दछन् । स्वर सम्राट नारायण गोपाल र तारन देवीले गाएको नेपाली सांगितक बजारमा स्थापित अजम्बरी गीत “तिरिरि मुरली बज्यो वनौमा…” देखि हाल बचारमा चलेका होक तथा चलचित्रका गीतहरू पनि उनले बाँसुरीमा उतार्ने गरेकाले ‘बुबु’ सबै प्रकारका शरणार्थी तथा संसस्थाका मान्छेका लागि एउटा रमाइलो पात्रका रूपमा परिचित छन् ।
जन्मदै आँफ्ना दुबै आँखाको ज्योति मधुरो भएकाले उनी शारिरिकरुपमा आँफूलाई असक्त्त ठाने त पनि “म जे छु, ठीकै छु” भन्दछन् । तर, त्यती राम्ररो बाँसुरी वाधनका पारखी हुँदा पनि आँखाको ज्योति न्यून भएकै ले बैसालु उमेरमा पनि तरूनी जिस्काउनबाट चुकेको उनी रमाइलो तर्क गर्दछन् । गाइ–भौसी हेर्न जान नसके पनि कान्छि बहिनीको साथी भएर वनजंगल जाँदा बाँसुरी बजाउने गरेको उनको कुरा छ । “३७ वर्ष पुगिसकेँ । अझ पनि विवाह गर्ने मौका जुरेन । अब त त्यती चासो पनि लाग्दैन,” आफ्नो एक्लो जीवनका बारेमा उनी स्पष्ट पार्दछन् । बाँसुरीका अलावा हार्मोनी, गितार, कङगो, दुकी–तबेला र मादल पनि राम्ररी बजाउन सक्ने ‘बुबु’ मा सीप छ ।
प्रायजसो सधै उनी शिविरमै बुनेको ऊनीको झोला भिरेर शिविरमा भेटिन्छन् । शिविरकै सूर्यमान गुरूङले वनाइदिएको बाँसुरी उनको त्यो छोलाभित्र हुन्छ । साथी¬–भाइको राम्ररो सहयोग र हौसला मिले पनि उनकी आमाले भने बाँसुरी बजाको पटक्कै मन पराउँदिनन् । “आमाले मेरो बाँसुरी दुई–तीन वटा फुटाइ दिनुभयो । मन नपराएको त हैन होला तर बुढेस्काल लागेर होला आमालाई झर्को लागेको,” उनी प्रस्ट्याउछन् । ‘बुबु’ लाई साथीभाइसंगै अमेरिका जाने पनि ठूलो इच्छा छ । तर, त्यस कुरामा उनका बुबा–आमाले विरोध गरेको गुनासो गर्दछन् । “जाने त इच्छा छ नि के गर्नु मेरो त आमा–बुबा नै मान्नु हुन्न ।”

Advertisements